काठमाडौं । राष्ट्रिय जनमोर्चाको मातृ संगठन नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि जेन–जी आन्दोलनलाई योजनाबद्ध रूपमा दुरुपयोग गरेको आरोप लगाएको छ। महासचिव मोहनविक्रम सिंह नेतृत्वको मसालले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पारित राजनीतिक संकल्पमार्फत यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।
नेपाली र अंग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको संकल्पमा रास्वपालाई अमेरिकी पक्षधर शक्तिको रूपमा चित्रण गरिएको छ। मसालको दाबी छ—पुराना दलप्रति असन्तुष्टि बढ्दै गएको अवस्थामा ‘अमेरिकी साम्राज्यवाद’ले रास्वपालाई समर्थन गरेको र जेन–जी आन्दोलनमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्न खोजिएको छ।
संकल्पमा अब बन्ने सरकार वा कार्यकारी निकाय अमेरिकापक्षधर हुने आशंका व्यक्त गरिएको छ। साथै, देशभित्र क्रियाशील एनजीओ तथा आईएनजीओहरूले सार्वजनिक धारणा प्रभावित गर्दै ‘सम्राज्यवादी’ धार बलियो बनाइरहेको आरोप पनि लगाइएको छ। मसालले जेन–जी आन्दोलनसँग केही एजेन्डामा समान धारणा रहेको स्वीकार गरेको छ। विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनुपर्ने र भ्रष्टाचारविरोधी अभियानमा सहकार्य सम्भव रहेको उल्लेख गरिएको छ। तर जेन–जी आन्दोलनले सुरुमा ‘दलीय राजनीतिबाट टाढा रहने’ प्रतिबद्धता जनाए पनि पछि दलमा प्रवेश गरेको वा दल नै गठन गरेको विषयलाई मसालले वैचारिक विचलनका रूपमा व्याख्या गरेको छ।
विश्लेषकहरूका अनुसार यो आरोप वैचारिक मतभेदभन्दा पनि नयाँ राजनीतिक शक्तिको उदयप्रति परम्परागत वामपन्थी धारको असहजता हुन सक्छ। जेन–जी आन्दोलनले युवामाझ पाएको समर्थन र रास्वपाको तीव्र उदयले स्थापित दलहरूलाई चुनौती दिएको छतर मसालको चेतावनीले एउटा प्रश्न भने उठाएको छ—नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभावको बहस पुनः केन्द्रीकृत हुँदैछ कि यो केवल चुनावी आरोप–प्रत्यारोपको निरन्तरता हो? आगामी राजनीतिक समीकरणले यी आरोपहरूको यथार्थता कत्तिको प्रमाणित गर्छ, त्यो भने समयले देखाउनेछ।




