काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थक तथा राजावादी समूहले राजधानीमा मोटरसाइकल र्याली निकालेका छन्। निर्वाचन बहिष्कारको अभियान चलाउँदै आएका प्रसाईं पक्राउ परेपछि समर्थकहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरू माइतीघर मण्डलामा भेला भएर भद्रकालीसम्म मोटरसाइकल र्यालीमा सहभागी भए। र्यालीका क्रममा ‘कार्की सरकार मुर्दावाद’, ‘दुर्गा प्रसाईंलाई तत्काल रिहा गर’ र ‘१२ बुँदे सम्झौता कार्यान्वयन गर’ जस्ता नारा लगाइएका थिए।
प्रसाईंलाई गत सोमबार भक्तपुरस्थित निजी निवासबाट प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको थियो। त्यसयता उनका समर्थकहरूले गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध जनाउँदै आएका छन्। आजको प्रदर्शनमा कोणसभा गर्ने तयारी भए पनि सुरक्षा निकायले अनुमति नदिएको र भीडलाई केही समयमै तितरबितर पारेको बताइएको छ।
चुनावी माहोल तातिरहेका बेला प्रसाईंको पक्राउ र त्यसविरुद्धको प्रदर्शनले राजधानीको राजनीतिक वातावरण थप संवेदनशील बनेको देखिएको छ।




