काठमाडौं । आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन सशस्त्र प्रहरी बलले उच्च तहका अधिकृत परिचालन गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले २३ जना वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई देशभर अनुगमन तथा समन्वयको जिम्मेवारीसहित सोमबारदेखि खटाउने भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपत्यकाबाट खटिन लागेका अधिकृतलाई प्रत्यक्ष र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिनेलाई भर्चुअल माध्यममार्फत विशेष निर्देशन दिएका छन्।
आईजी अर्यालले निर्वाचनअघि, मतदानका दिन र मतगणनापछिको सम्भावित चुनौतीलाई ध्यानमा राख्दै समग्र सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न उनले जोड दिएका छन्।
निर्वाचन अवधिभर सुरक्षासम्बन्धी सूचना संकलन तीव्र पार्न, स्थानीय कमाण्डरसँग समन्वय सुदृढ गर्न तथा उम्मेदवारसँग नियमित सम्पर्कमा रहन पनि निर्देशन दिइएको छ। फिल्डमा देखिएका कमजोरी तत्काल मुख्यालयलाई जानकारी गराउन र आवश्यक निर्णय छिटो लिनुपर्नेमा समेत जोड दिइएको छ।
सीमा क्षेत्रको निगरानी कडा बनाउन र निर्वाचन बिथोल्ने प्रयास भए कानुनबमोजिम बल प्रयोग गर्न मातहतका कमाण्डरलाई स्पष्ट निर्देशन दिइएको छ। बल प्रयोग गर्दा मानवअधिकारको पूर्ण पालना गर्न र आवश्यक प्रमाण सुरक्षित राख्न पनि निर्देशन दिइएको छ। सुरक्षा निकायले निर्वाचन प्रक्रियालाई भयरहित बनाउन उच्च सतर्कता अपनाएको संकेत यस कदमले दिएको छ। अब सुरक्षा रणनीति कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्नेमा निर्वाचनको समग्र विश्वसनीयता निर्भर रहने देखिन्छ।




