राजनीति

झण्डा जलाउने र घृणायुक्त राजनीति अस्वीकार्य : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारका क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै त्यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा (एमाले)को झण्डा जलाएको घटनाप्रति लक्षित गर्दै यस्ता गतिविधि निन्दनीय र अस्वीकार्य भएको बताए ।

काँग्रेसले देशका विभिन्न स्थानमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने खालका गतिविधि बढिरहेकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैलाउने र घृणायुक्त अभिव्यक्ति दिने कार्य कुनै पनि राजनीतिक दलबाट हुन नहुने स्पष्ट पारे ।

उनले भने, “जनता–जनताबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँकतैबाट हुनुहुँदैन । सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति दिने कार्य कुनै पनि पार्टीका लागि शोभनीय हुँदैन । कसैको आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा तथा पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय मान्दछ । यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ ।”

यसैबीच, प्रवक्ता चालिसेले काँग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्र आम मतदातामाझ आकर्षणको केन्द्र बन्दै गएको दाबी पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *