देश

निर्वाचन ‘देश बनाउने कि जलाउने’ शक्तिबीचको लडाइँ : ओली

काठमाडौं । केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको निर्णायक संघर्ष’ का रूपमा व्याख्या गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको दाबी गरे । उनले पार्टी ५०–६० वर्षदेखि निरन्तर आन्दोलन र संघर्षमार्फत अघि बढिरहेको उल्लेख गर्दै देशको भविष्य सुरक्षित राख्ने शक्ति एमाले नै भएको बताए ।

ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाए । विपक्षीहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित गतिविधिमार्फत चुनावी वातावरण बिगार्न खोजेको आरोप उनको थियो । उनले झण्डाको अपमान गर्नु निर्वाचन र लोकतान्त्रिक प्रक्रियाविरुद्धको कार्य भएको बताए ।

आफ्नो नेतृत्वमा भएका कामहरू स्मरण गराउँदै ओलीले हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याइएको, साक्षरता दर वृद्धि तथा ३९६ आधारभूत अस्पताल शिलान्यासजस्ता उपलब्धि प्रस्तुत गरे । दुर्गम क्षेत्रबाट सुत्केरी तथा गम्भीर बिरामीको हेलिकप्टरमार्फत उद्धार सुरु गरिएको पनि उनले उल्लेख गरे ।

आफूमाथि भइरहेका आलोचनाबारे प्रतिक्रिया दिँदै ओलीले ६० वर्षको राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी गरे । राष्ट्रियता र भू–सार्वभौमसत्ताको पक्षमा अडिग उभिएको कारण आफू निशानामा परेको उनको भनाइ थियो । नेपाललाई जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न खोज्ने प्रवृत्तिविरुद्ध एमाले दृढ रहेको उनले बताए ।

ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न आग्रह गर्दै सूर्य चिन्हलाई उज्यालो, जीवन र ऊर्जा दिने प्रतीकका रूपमा व्याख्या गरे । गलत ठाउँमा मतदान हुँदा देशको भविष्य प्रभावित हुने भन्दै उनले मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे ।

कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले व्यक्तिगत लाभभन्दा देशप्रति योगदानको भावना लिएर राजनीतिमा लाग्न सुझाव दिए । आगामी फागुन २१ को निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न गाउँ–गाउँसम्म राष्ट्रिय एकताको सन्देश पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *