काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र मुलुकको राजनीतिक तथा संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प बोकेको बताएका छन् ।
नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उनले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताए ।
कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माणको अभिभारा पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताए । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको उल्लेख गर्दै उनले नेकपाले नै जनअपेक्षा पूरा गर्ने जिकिर गरे।




