रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली राष्ट्रले सस्तो र प्रभावकारी ड्रोन रक्षा प्रणाली विकास गर्न संयुक्त पहल अघि सारेका छन् । फ्रान्स, पोल्यान्ड, जर्मनी, बेलायत र इटाली सम्मिलित ‘इ५’ समूहले युक्रेनको युद्धमैदानमा विकसित अनुभव र प्रविधि उपयोग गर्दै कम लागतका हवाई प्रतिरक्षा प्रणाली र स्वायत्त ड्रोन उत्पादनमा लगानी गर्ने घोषणा गरेका छन् ।
यस पहलको लक्ष्य युरोपेली हवाई क्षेत्र उल्लङ्घन गर्ने ड्रोनहरूलाई छिटो पत्ता लगाउने, ट्र्याक गर्ने र निष्क्रिय पार्ने क्षमता विकास गर्नु हो । युरोपेली देशहरूले पछिल्ला वर्षहरूमा सीमाक्षेत्र र विमानस्थल वरिपरि शङ्कास्पद ड्रोन गतिविधि देखेपछि सुरक्षा संरचना बलियो बनाउने प्रयास तीव्र पारेका छन् । केही घटनाका लागि रुसलाई दोष लगाइएको भए पनि मस्कोले संलग्नता अस्वीकार गर्दै आएको छ ।
युद्धलाई ‘प्रयोगशाला’ का रूपमा प्रयोग गर्दै रुस र युक्रेन दुवैले अत्याधुनिक ड्रोन युद्ध क्षमता विकास गरेका छन् । पोल्यान्डले यसअघि नै युक्रेनसँग संयुक्त तालिम र उत्पादन परियोजनामा सहकार्य गरिरहेको छ । अब ‘लो–कोस्ट इफेक्टर्स एन्ड अटोनोमस प्लेटफर्म’ (एलइएपी) नाम दिइएको कार्यक्रममा ड्रोन–आधारित आक्रमण क्षमता विकास, कम लागतमा उत्पादन तथा संयुक्त खरिदमा सहमति गरिएको पोल्यान्डका रक्षामन्त्री भ्लाडिस्लाभ कोसिनियाक–कामिजले बताउनुभयो । उहाँका अनुसार कृत्रिम बौद्धिकता (एआई) सहितका लडाकू पेलोड विकासमा समेत साझेदारी हुनेछ ।
बेलायतका रक्षा तयारी तथा उद्योगमन्त्री ल्युक पोलार्डले नाटोको सुरक्षा कवच सुदृढ बनाउन नयाँ पुस्ताका हवाई प्रतिरक्षा र स्वायत्त प्रणालीमा लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले कम लागतका ड्रोन र मिसाइलविरुद्ध महँगा लडाकू जेट प्रयोग गर्नु दिगो समाधान नभएको उल्लेख गर्दै ‘खतराको लागत र प्रतिरक्षाको लागतबीच सन्तुलन मिलाउनुपर्ने’ धारणा राख्नुभयो ।
सेप्टेम्बर २०२५ मा रूसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गर्दा तिनलाई रोक्न करोडौँ डलर मूल्यका जेट प्रयोग गरिएको थियो भने ती ड्रोनको लागत तुलनात्मक रूपमा निकै कम थियो । त्यस्ता अवस्थालाई ध्यानमा राख्दै सस्तो काइनेटिक वा इलेक्ट्रोनिक प्रतिरोध प्रणाली विकासमा जोड दिइएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो र युरोपेली रक्षा खर्चबारे गरेको आलोचनापछि युरोपेली मुलुकहरू आफ्नै सुरक्षा संरचना मजबुत बनाउन थप सक्रिय भएका छन् । युरोपेली सङ्घ (इयु) ले रक्षा क्षेत्रमा लगानी बढाएको छ र गहिरा सैन्य सहकार्यबारे खुला छलफल सुरु गरेको छ ।
इयुकी विदेश नीति प्रमुख काजा कल्लासले रुसको आक्रामकता, मध्यपूर्वको अस्थिरता, चीनसँगको प्रतिस्पर्धा र अमेरिकासँग पुनर्परिभाषित सम्बन्धलाई उद्धृत गर्दै ‘युरोपको सुरक्षा दशकौँयताकै सबैभन्दा अनिश्चित अवस्थामा’ रहेको बताउनुभयो । उहाँले कम लागतको इन्टरसेप्टर कार्यक्रमलाई युरोपेली प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो र बलियो युरोपले नाटोलाई समेत सुदृढ बनाउने धारणा राख्नुभयो ।
यद्यपि ३२ सदस्यीय नाटो गठबन्धन ट्रम्प प्रशासनसँगका तनावका कारण दबाबमा छ । डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी अभिव्यक्ति र अफगानिस्तानमा नाटो सहयोगी सेनाबारे टिप्पणीले सम्बन्धमा चिसोपना ल्याएको थियो । हाल तनाव केही कम भए पनि आन्तरिक मतभेदले विश्वकै सबैभन्दा ठूलो सुरक्षा गठबन्धनको एकीकृत क्षमतामाथि प्रश्न उठाइरहेको छ ।
यस्तो परिवेशमा युरोपेली राष्ट्रहरू युद्धबाट प्राप्त युक्रेनी अनुभवलाई आत्मसात् गर्दै सस्तो तर प्रभावकारी सुरक्षा संरचना निर्माणतर्फ अघि बढेका छन् ।




