काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोच–विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व तथा दल रोज्नुपर्नेमा जोड दिए। देश हाल गम्भीर परिस्थितिमा रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलिएका भ्रमबाट बाहिर निस्केर अध्ययन–विश्लेषणसहित विवेकपूर्ण निर्णय लिन उनीहरूको अपिल थियो।
बागमती प्रदेशका पूर्व उपसभापति तथा हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईँले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मत दिन आग्रह गरे। उनले चुपचाप मतदान नगरी पर्याप्त अध्ययन गरेर निर्णय लिनुपर्ने बताए। देशले निकास पाउने र स्थायी सरकार निर्माण हुने गरी मत प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
हुमागाईँले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप लगाउँदै समयमा अधिवेशन गर्न नसक्नु, उम्मेदवार चयन प्रक्रिया पारदर्शी नहुनु र नेतृत्वमा जवाफदेहिता अभाव हुनुजस्ता कारणले आफूले पार्टी छाडेको बताए। “नयाँ” को नाममा नेपाली जनता तथा जेन–जी आन्दोलनमाथि नै धोका हुन लागेको उनको दाबी छ।
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि सङ्गठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए। ‘थितिको थालनी र बेतिथिको अन्त्य’ भन्ने नाराका साथ स्थापना भएको पार्टी उल्टो दिशातिर गएको उनको भनाइ छ। उम्मेदवारी चयन प्राइमरी निर्वाचनमार्फत हुने भनिए पनि व्यवहारमा लागू नभएको उनले बताए।
उनका अनुसार पार्टी सदस्यहरूलाई मेहनत गर्न प्रोत्साहित गरिए पनि नेतृत्व चयनको अधिकार अन्तिम समयमा सङ्गठनबाट खोसिएको छ। आफूले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएकाले पार्टी छाड्न बाध्य भएको उनले उल्लेख गरे।
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टीभित्र अपारदर्शिता बढ्दै गएको आरोप लगाइन्। बाहिर पारदर्शिताको कुरा गरिए पनि व्यवहारमा त्यसको विपरीत देखिएको कारण दैनिक रूपमा नेताहरू पार्टी छाडिरहेको उनको भनाइ छ। ‘जान्नेलाई छान्ने’ नारा व्यवहारमा उल्टिएको भन्दै उनले जनतालाई झुक्याउने काम भइरहेको आरोप लगाइन्।
रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली कांग्रेस मा प्रवेश गरिसकेका छन् भने दिनेश हुमागाईँ हालसम्म कुनै दलमा आबद्ध भएका छैनन्। उनीहरूले मतदातालाई भावनात्मक लहर र आकर्षक नाराभन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन पुनः आग्रह गरेका छन्।




