देश

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। विवादित अभियन्ता दुर्गा प्रसाईं लाई पक्राउ गरिएको प्रकरणमा सर्वोच्च अदालतले उनलाई अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको छ। आगामी फागुन २१ मा हुने निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न हुन सक्ने आशंकामा प्रहरीले प्रसाईंलाई पुनः नियन्त्रणमा लिएको थियो। त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डे को इजलासले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। पछिल्लो आदेशसँगै अदालतले प्रसाईंलाई उपस्थित गराई पक्राउको आधार र प्रक्रिया स्पष्ट पार्न निर्देशन दिएको छ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले उनीसँग बयान लिएको थियो। माघ ५ गते पोखराबाट समेत नियन्त्रणमा लिई सोधपुछपछि छाडिएको विवरण सार्वजनिक भएको थियो।

प्रहरीले निर्वाचनको शान्ति, सुरक्षा र निष्पक्ष वातावरण कायम राख्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रसाईं पक्षले भने आफ्ना गतिविधि अभिव्यक्ति स्वतन्त्रताभित्र पर्ने जिकिर गर्दै आएको छ। अब अदालतमा उपस्थितिपछि यस प्रकरणले कानुनी मोड लिने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *