देश

दाङमा ‘सूर्य’ अंकित झन्डा जलाउने अभियोग : एक व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ अंकित झन्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो। घटनामा उनको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराका अनुसार बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा भएको स्वागत कार्यक्रममा झन्डा जलाइएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान भएपछि बस्नेतलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

चुनावी माहोल तातिँदै जाँदा दाङमा दलहरूबीच तनाव बढेको छ। प्रहरीले सामाजिक सद्भाव खलबलिने गतिविधि नगर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *