काठमाडौं । दाङको घोराहीमा आयोजित चुनावी कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै कालो झण्डा प्रदर्शन गरिएको छ। शुक्रबार भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताले विरोध जनाएका हुन्। कालो झण्डा प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना त्यसैबेला चर्कियो जब अघिल्लो रात रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भिडियो सार्वजनिक भयो। भिडियोमा केही कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ। दाङ एमाले महासचिव शंकर पोखरेल को गृहनगरसमेत भएकाले घटना थप संवेदनशील बनेको छ।
घोराही–२ मा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई संसद्बाट हटाइएको प्रसंग उठाउँदै जनताको मनबाट हटाएर देखाउन चुनौती दिए। उनले आफू सुशासनको पक्षमा उभिएको र भ्रष्टाचारविरुद्ध फाइल खोल्न लाग्दा षड्यन्त्रपूर्वक जेल पठाइएको दाबी गर्दै सहकारी ठगीको आफुमाथि लागेको ट्याग हटाउन एमालेमाथि बारम्बार आक्रोष पोखेपछि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले रविलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमार्फत ‘अन्यायको जवाफ दिने’ उल्लेख गरे। घोराही–२ मा एमालेबाट महासचिव पोखरेल उम्मेदवार रहेकाले प्रतिस्पर्धा चर्किएको छ।यस्तै झण्डा जलाउने घटनापछि एमालेनिकट संगठनहरूले कडा प्रतिक्रिया जनाएका छन्। नेशनल भोलेन्टियर्स फोर्स ले घटनामा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु ले लोकतान्त्रिक संस्कारविपरीत गतिविधि भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेको छ। राष्ट्रिय युवा संघ नेपाल ले रास्वपालाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै यस्ता गतिविधि दोहोरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। एमालेका केन्द्रीय प्रचार संयोजकले पनि विज्ञप्तिमार्फत झण्डा जलाउने कार्यलाई लोकतन्त्रविरुद्धको अराजक गतिविधि भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
दाङमा देखिएको यो घटनाले चुनावी प्रतिस्पर्धा कति तिक्त बन्दै गएको छ भन्ने संकेत दिएको छ। रास्वपा र एमालेबीच आरोप–प्रत्यारोप तीव्र भइरहँदा स्थानीय प्रशासनमाथि निष्पक्ष छानबिन र शान्ति कायम राख्ने दबाब बढेको छ। फागुन २१ नजिकिँदै जाँदा दाङ मात्र होइन, अन्य क्षेत्रमा पनि चुनावी तनाव थप बढ्ने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।




