देश

फागुन १७ मा काठमाडौँमा कांग्रेसको चुनावी सभा, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन १७ गते काठमाडौँमा बृहत् चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभामा सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सभाको तयारीका सन्दर्भमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला नेतृत्वबीच छलफल भएको थियो। कार्यक्रममा सहभागी हुने नेता, व्यवस्थापन र प्रचार रणनीतिबारे विस्तृत तयारी अघि बढाइएको जनाइएको छ।

कांग्रेसले फागुन ६ गते जनकपुरको तिरहुतियाबाट मधेस सभा गर्दै चुनावी अभियान सुरु गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौँस्थित राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो।

अन्य प्रदेशमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कार्यक्रम तालिका छिट्टै सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *