काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्वडीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन्। उनी काभ्रेपलाञ्चोक–२ का कांग्रेस उम्मेदवार मधु आचार्यको पक्षमा पाँचखालमा आयोजित सभामा सहभागी भएका हुन्। पाँचखाल–५ स्थित केराघारीमा आयोजित कार्यक्रममा बोल्दै खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको दाबी गरे। तर, “रूपान्तरणको बाटो समातेको कांग्रेसले देशको मुहार फेर्न सक्छ भन्ने अपेक्षाले” कार्यक्रममा आएको उनको भनाइ थियो।
उनले कांग्रेसभित्र युवा नेतृत्वको उदयलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। विशेषगरी गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्व क्षमतालाई समर्थन गर्न आफू उपस्थित भएको बताए। “न्युट्रल मतदाताको हैसियतले हेर्दा कांग्रेस हिजोको जस्तो छैन, सुदृढीकरणसहित स्पष्ट भिजनका साथ अघि बढेको देखिन्छ,” उनले भने।
२०७९ सालको आम निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवारी दिएका खरेल त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए। बारा–२ को उपनिर्वाचनमा उनी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए। उपनिर्वाचनपछि रास्वपामा सक्रिय भूमिकामा नदेखिएका खरेलले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेप्रति सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका थिए।
खरेलको कांग्रेस कार्यक्रममा उपस्थिति चुनावी माहोलमा नयाँ सन्देशका रूपमा हेरिएको छ। यद्यपि, उनले औपचारिक रूपमा कुनै दलमा प्रवेश गरेको घोषणा भने गरेका छैनन्।




