देश

तुलसीपुरमा एमालेको झण्डा जलाइयो : रास्वपा–एमाले भिडन्तको संकेत

रुपन्देही । दाङको तुलसीपुरमा बिहीबार राति भएको झण्डा जलाउने घटनाले राजनीतिक माहोल तातेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता संलग्न रहेको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता–कार्यकर्ता आक्रोशित बनेका छन्। तर रास्वपाले भने घटनामा घुसपैठ भएको दाबी गर्दै जिम्मेवारी अस्वीकार गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ तथा तस्वीरमा रास्वपाको प्रचारसहित एमाले र अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै झण्डा जलाइएको देखिन्छ। घटना एमाले महासचिव शंकर पोखरेल को गृहनगर तुलसीपुरमै भएको हो।

घटनापछि एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल कारबाही नगरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन्। एमाले दाङका सचिव श्याम डाँगीले निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण वातावरणमा असर पार्ने भन्दै सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गरेका छन्। उनका अनुसार लोकतन्त्रविरोधी गतिविधिले निर्वाचन मुठभेडतर्फ धकेल्न सक्ने जोखिम छ।

एमाले नेतृ शान्ता चौधरी र कोमल वलीलगायतले प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको टिप्पणी गरेका छन्। उनीहरूले घटनालाई निन्दनीय र अराजक गतिविधिको संज्ञा दिएका छन्।

यता रास्वपा दाङका सभापति विनय घिमिरेले विज्ञप्ति जारी गर्दै पार्टीको नाममा गरिएको उक्त गतिविधि योजनाबद्ध घुसपैठको परिणाम भएको दाबी गरेका छन्। झण्डा जलाउने जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको आधिकारिक नीतिमा कुनै दलको झण्डा जलाउने कार्य अस्वीकार्य रहेको स्पष्ट पारेका छन्।

घटनापछि दाङको घोराहीमा आज आयोजना हुने रास्वपाको लुम्बिनीस्तरीय सभालाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्था गरिएको छ। बिहीबार रातिको तनावले दुई दलबीच झडपको जोखिम बढेपछि प्रशासन सतर्क बनेको हो। उक्त सभामा पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम छ।

यसैबीच, रास्वपाले शनिबार रुपन्देहीको भैरहवा र आइतबार पोखरामा तय गरिएका चुनावी सभा स्थगित गरेको छ। रास्वपा रुपन्देही सभापति मधु अर्यालका अनुसार संगठनात्मक प्राथमिकता र रणनीतिक व्यवस्थापनका कारण सभा तत्कालका लागि रोकिने निर्णय गरिएको हो। भैरहवामा पत्रकार सम्मेलन, प्रचारप्रसार तथा स्टेज निर्माणको तयारीसमेत भइसकेको थियो।

तुलसीपुरको घटनाले निर्वाचनको संघारमा दलहरूबीचको प्रतिस्पर्धा थप तिक्त बन्दै गएको संकेत गरेको छ। अब सुरक्षा निकायको भूमिकाले आगामी राजनीतिक गतिविधिको दिशा निर्धारण गर्ने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *