देश

जन्ती र नवाज पढ्नेबीचको विवादले गौर तनावग्रस्त

काठमाडौं । विवाहको बाजागाजा बजाएको विषयलाई लिएर उत्पन्न विवाद उग्र बनेपछि रौतहटको सदरमुकाम गौर नगरपालिका–६, सबगढा गाउँ तनावग्रस्त बनेको छ। बिहीबार रातिदेखि सुरु भएको विवाद शुक्रबार बिहान झडपमा परिणत भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्थानीय स्रोतका अनुसार बिहीबार राति हिन्दू समुदायको विवाह जन्ती बाजागाजासहित निस्किएको थियो। सोही समयमा गाउँकै मस्जिदमा मुस्लिम समुदायको नमाज चलिरहेको र बाजाले अवरोध पुर्‍याएको भन्दै दुई पक्षबीच भनाभन भएको थियो। विवाद बढ्दै जाँदा मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहमाथि हातपात गरेपछि स्थिति बिग्रिएको बताइएको छ।

रातिको विवादले शुक्रबार बिहान पुनः निरन्तरता पायो। बिहानैदेखि दुवै पक्षबीच ढुङ्गा हानाहान भएपछि गाउँमा तनाव फैलिएको थियो। अवस्था नियन्त्रणबाहिर जान नदिन प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले घटनाको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना का गरी २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थलमा नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी सहितको टोलीले सुरक्षा कमाण्ड सम्हालेको छ।

प्रजिअ भुसालले सामाजिक सद्भाव खल्बलिने यस्ता घटना दुःखद रहेको उल्लेख गर्दै भने, “अहिले स्थिति नियन्त्रणमा छ। दुई पक्षबीच वार्तामार्फत समस्या समाधान गर्ने पहल भइरहेको छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *