काठमाडौं । नेपाल पत्रकार महासंघ ले कैलालीको धनगढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित सभामा सञ्चारकर्मीलाई पास हुँदाहुँदैसमेत कार्यक्रमस्थलमा प्रवेश गर्न नदिई दुर्व्यवहार गरिएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो।
महासंघद्वारा जारी विज्ञप्तिमा जिम्मेवार राजनीतिक दलबाट भएको यस्तो व्यवहारलाई ‘गैरराजनीतिक’ भन्दै लोकतान्त्रिक मूल्यमान्यता र प्रेस स्वतन्त्रतामाथि प्रहार भएको ठहर गरिएको छ। संवैधानिक अधिकार प्रयोग गर्न गएका पत्रकारलाई अवरोध गर्नु लोकतन्त्रको मर्म विपरीत रहेको उल्लेख गर्दै महासंघले घटनाको स्पष्ट भर्त्सना गरेको छ।
साथै, प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत गराइएको जनाइएको छ। धनगढीमा आयोजित उक्त चुनावी सभामा सुरक्षाकर्मी र आयोजकका कारण पत्रकारलाई कार्यक्रमस्थलमा रोक लगाइएको बताइएको छ।




