काठमाडौं । निर्वाचन प्रचार–प्रसारका क्रममा खुला छत भएका ‘रुफटप भेहिकल’ प्रयोग नगर्न केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था लागू गर्ने निष्कर्ष निकालेको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकले खुलेआम छतमा उभिएर प्रचार गर्ने क्रममा सुरक्षा जोखिम बढ्न सक्ने औंल्याउँदै त्यस्ता सवारी साधन प्रयोगमा निरुत्साहित गर्ने निर्णय गरेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० आनन्द काफ्लेका अनुसार हाल देशभर प्रचार शैली परिवर्तन भई छत खुला गाडीबाट भोट माग्ने चलन बढेकाले सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको हो।
बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा सम्बन्धित अधिकारी सहभागी थिए। प्रदेश तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू भर्चुअल माध्यमबाट जोडिएका थिए।
सुरक्षा समितिले फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे समेत समीक्षा गरेको छ। हालसम्मको तयारी सन्तोषजनक भए पनि थप सुदृढीकरण गर्ने निर्णय गरिएको जनाइएको छ। निर्वाचन अवधिभर जिल्लास्तरमा दैनिक सुरक्षा समीक्षा बैठक बस्ने र संयुक्त गस्तीलाई तीव्रता दिने निर्देश दिइएको छ।
यसैबीच निर्वाचन प्रक्रियामा कर्मचारीको तटस्थता र निष्पक्षता सुनिश्चित गर्न खटनपटनदेखि नै सतर्कता अपनाइने बताइएको छ। दण्डहीनता हुन नदिन स्पष्ट निर्देशन जारी गरिएको सुरक्षा स्रोतले जनाएको छ।
चुनावी वातावरणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सुरक्षा निकायहरूले समन्वयात्मक भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




