देश

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ । यहाँस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी नि:शुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा. अमिताब ठाकुरले जानकारी दिए । “म यहाँ आएपछि धेरै महिलाको दु:ख देखेँ । पाठेघरसम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब त्यो बाध्यताको अन्त्य भएको छ”, उनले भने, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै नि:शुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ ।”

अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको नि:शुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पतालको आफ्नै स्रोत साधन उपयोग गरेर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए । “जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए । यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौँ”, उनले भने, “यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने छैन ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जानेरआउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी राजधानी लगायतका सुविधायुक्त अस्पतालमा पठाउने गरिएको थियो ।

हालैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले त्यस्ता समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर नि:शुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८/१८ जना महिला तथा एकरएक जना कुरुवालाई बनेपा लगेर नि:शुल्क शल्यक्रियासहितको उपचार गराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *