देश

समर्पित कार्यकर्ता पाखा, चटकदार अघि – हुमागाईँको गम्भीर आरोपपछि पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। उनले आजदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी महामन्त्रीसमक्ष राजीनामा घोषणा गरेका हुन्।

हुमागाईँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका थिए। राजीनामा पत्रमार्फत उनले पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन्।उनले उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको आरोप लगाएका छन्।

उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै उनले वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिलाई प्राथमिकता दिइएको बताएका छन्। उनले केही व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको दाबी गरेका छन्।

राजीनामा पत्रमा उनले पार्टीले सुरुमा योग्य र जानकार व्यक्तिलाई निर्वाचनमा अघि सार्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा सीमित व्यक्तिहरू, नेतृत्व निकट र चाकडी प्रवृत्तिका पात्रलाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको उल्लेख गरेका छन्। यस्तो प्रवृत्तिले भविष्यमा संसद विकृत र अवसरवादी संरचनामा परिणत हुने संकेत देखिएको उनको भनाइ छ।

अघिल्लो निर्वाचनमा हुमागाईँले काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए।पछिल्लो समय रास्वपाभित्र उम्मेदवार चयन प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टी परित्याग गर्ने क्रम बढ्दो छ। हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा तथा नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी छाडेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *