काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली प्रक्रिया अघि बढाउँदै १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर तथा चलअचल सम्पत्ति रोक्का गरेको जनाएको छ। बचतकर्ताको रकम फिर्ता गर्न आवश्यक स्रोत जुटाउने उद्देश्यले यस्तो कदम चालिएको कार्यालयले स्पष्ट पारेको छ।
समितिका अनुसार हालसम्म ७४ हजार ३ सय ७ जना बचतकर्ताबाट ४४ अर्ब ४८ करोड ९० लाख रुपैयाँभन्दा बढी रकमको मागदाबी परेको छ। तर, अहिलेसम्म ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ मात्रै फिर्ता तथा मिलान गर्न सकिएको छ।
समस्याग्रस्त घोषित २३ सहकारीमध्ये तीनवटाको दायित्व भुक्तानी र सम्पत्ति व्यवस्थापन टुंगिएको छ भने बाँकी २० सहकारीको प्रक्रिया जारी छ। तर, रोक्का राखिएका सम्पत्ति जफत गर्दा पनि सबै बचतकर्ताको रकम पूर्णरूपमा फिर्ता गर्न पर्याप्त नहुने कार्यालयको आकलन छ।
ऋण असुली प्रक्रिया जटिल, प्रक्रियामुखी र समय लाग्ने भएकाले बचत फिर्ता ढिला भइरहेको जनाइएको छ। अचल सम्पत्ति मूल्यांकन, कानुनी प्रक्रिया र मौद्रिक कारोबारमार्फत रकम प्राप्त गर्ने कार्य चुनौतीपूर्ण रहेको समितिको भनाइ छ।
कार्यालयका एक अधिकारीका अनुसार दक्ष जनशक्ति अभाव, कर्मचारी सरुवा, सूचना हस्तान्तरणमा कमजोरी, अपूर्ण अभिलेख, गलत सूचना प्रवाह र कानुनी जटिलताले समस्या थप पेचिलो बनेको छ। कतिपय सहकारीमा हिनामिना, गलत कर्जा प्रवाह र अभिलेख हेरफेरका कारण वास्तविक विवरण यकिन गर्नसमेत कठिनाइ भइरहेको छ।
समितिले सरोकारवालाबीच प्रभावकारी समन्वय र सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रक्रिया टुंग्याउन अझै समय लाग्ने संकेत दिएको छ।




