काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिज्ञापत्रमार्फत मुलुकको समग्र रूपान्तरणका लागि दीर्घकालीन दृष्टि प्रस्तुत गरेको छ । जनकपुरमा आयोजित कार्यक्रमबाट सार्वजनिक घोषणापत्रमा कांग्रेसले ‘१० भिजन’ मार्फत सम्मानित नागरिक, समुन्नत अर्थतन्त्र र स्वाभिमानी राष्ट्र निर्माणको मार्गचित्र अघि सारेको हो ।
प्रतिज्ञापत्रले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र आर्थिक उदारीकरणलाई एकैसाथ अघि बढाउने प्रयास गरेको देखिन्छ । नागरिकको स्वतन्त्रता, पहिचान र सुरक्षा सुनिश्चित गर्दै विभेदरहित समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको दस्तावेजले युवालाई स्वदेशमै अवसर दिने वातावरण सिर्जना गर्ने लक्ष्य पनि प्रस्तुत गरेको छ । विदेश पलायन रोक्ने, सीप र पूँजी स्वदेशमै परिचालन गर्ने तथा उद्यमशीलता प्रवर्द्धन गर्ने योजनालाई कांग्रेसले आर्थिक रूपान्तरणको आधार मानेको छ ।
कृषि क्षेत्रलाई सम्मानित र नाफामूलक पेशाका रूपमा विकास गर्ने, उत्पादन र बजार सुनिश्चित गर्ने तथा किसानको आय वृद्धि गर्ने प्रतिबद्धता प्रतिज्ञापत्रमा उल्लेख छ । त्यस्तै स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारको रूपमा स्थापित गर्दै सर्वसुलभ स्वास्थ्य सेवा र आर्थिक भाररहित शिक्षाको अवधारणा अघि सारिएको छ । प्रविधिमैत्री शिक्षा, स्वास्थ्य बीमा विस्तार र गुणस्तरीय सेवा प्रवाहमार्फत मानव विकास सूचक सुधार गर्ने कांग्रेसको योजना देखिन्छ ।
सुशासन र विधिको शासनलाई प्रतिज्ञापत्रको अर्को मुख्य आधार बनाइएको छ । भ्रष्टाचार नियन्त्रण, संवैधानिक निकायको स्वायत्तता, डिजिटल शासन प्रणाली विस्तार र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सांस्कृतिक मौलिकता जोगाउँदै आधुनिक विकाससँग समन्वय गर्ने, भाषा–संस्कृतिको संरक्षण गर्ने तथा विविधतालाई राष्ट्रिय शक्ति बनाउने नीति पनि दस्तावेजमा समेटिएको छ ।
परराष्ट्र नीतितर्फ राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र सन्तुलित कूटनीतिमा जोड दिँदै छिमेकी तथा विश्व समुदायसँग समानतामा आधारित सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना–प्रविधि लगायत क्षेत्रको विकासमार्फत दिगो आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच प्रतिज्ञापत्रले प्रस्तुत गरेको छ ।
समग्रमा कांग्रेसको घोषणापत्र सामाजिक सुरक्षा, आर्थिक अवसर र संस्थागत सुधारलाई समानान्तर रूपमा अघि बढाउने रणनीतिमा केन्द्रित देखिन्छ । तर घोषणापत्रमा उल्लेखित महत्वाकांक्षी योजनाको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापन, राजनीतिक स्थिरता र तीन तहका सरकारबीच समन्वय नै यसको सफलताको प्रमुख आधार हुने विश्लेषण गरिएको छ । कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ।




