देश

बालेनको थर उच्चारणमा विवाद : नागरिकतामा मेयर हुनुअघि (साह) मेयर भएपछि (शाह)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नागरिकतामा भएको थर परिवर्तनले राजनीतिक र कानुनी विवाद जन्माएको छ। उनले मेयरमा निर्वाचित हुनु अघि “साह” लेखिएको नागरिकता प्राप्त गरेका थिए भने मेयर भएपछि “शाह” बनाइएको पाइएको छ।

२०६३ सालमा महोत्तरीको एकडाराबाट जारी गरिएको नागरिकतामा बालेन्द्र साह लेखिएको थियो। तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले पुस ९ गते यो नागरिकता जारी गरेका थिए। तर २०७९ साल असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भइसकेपछि जारी नागरिकताको प्रतिलिपिमा “साह”को सट्टा “शाह” लेखिएको देखिन्छ।

शाहको परिवार मूलतः महोत्तरीमा बसोबास गर्थ्यो र बालेनका बुबा रामनारायण साहले बसाइँसराइ प्रमाणपत्रमा परिवारका सबै सदस्यको थर “साह” नै उल्लेख गरेका थिए। काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ बाट प्राप्त बसाइँसराइ प्रमाणपत्रमा पनि यही “साह” लेखिएको थियो।

तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०७९ मंसिर ७ गते जारी गरेको नागरिकतामा बुबा रामनारायणको नाम “रामनारायण शाह” र आमाको नाम “ध्रुवदेवी शाह” लेखिएको देखिन्छ। यद्यपि बालेनका दाइ कौशलेन्द्रको नागरिकतामा भने पुरानै थर “साह” कायम छ।

नागरिकता ऐन २०६३ अनुसार, झुटो विवरण पाएर नागरिकता लिएको प्रमाणित भएमा प्रमाणपत्र रद्द गर्न सकिने प्रावधान छ। तर ऐनको दफा १७ ले साना त्रुटि भएमा विवरण सच्याउन पाउने प्रावधान राखेको छ। कानुनी विशेषज्ञहरूको अनुसार, बालेन र उनका आमाबुबाको थर परिवर्तन यस दफामा उल्लेखित “सानातिना त्रुटि”को दायरामा पर्दैन।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यस्तो परिवर्तनले कानुनी विवाद उत्पन्न गर्नसक्छ र भविष्यमा नागरिकतासम्बन्धी मुद्दामा राजनीतिक रूपमा चुनौती खडा हुनसक्छ। बालेनले नागरिकता जारी गर्दा कागजात किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकाली उजुरी परेको समाचार सार्वजनिक भएका छन् । तर जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवन भट्टराईले अहिलेसम्म सो विषयमा कुनै उजुरी नपरेको संकल्प खबरलाई जानकारी दिए ।

बालेन्द्र शाह अहिले वीरगञ्जमा रहेका छन् र आगामी निर्वाचनमा संभावित प्रधानमन्त्री उम्मेदवारका रूपमा चर्चा भइरहेका छन्। नागरिकता विवादले उनी र उनकी पार्टीलाई निर्वाचन अभियानमा दबावमा पार्ने सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *