काठमाडौं । बनेपा बजारमा भएको सवारी दुर्घटनापछि केही समय अवरुद्ध रहेको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ। सुरक्षाकर्मीको हस्तक्षेपपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। बुधबार बिहान दूरसञ्चार कार्यालय नजिक टिपरले स्कुटरलाई ठक्कर दिँदा ३१ वर्षीय ओमन प्रधानको घटनास्थलमै मृत्यु भएको थियो। उनी धुलिखेल नगरपालिका–५ का बासिन्दा रहेको बताइएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गर्दै सडक अवरुद्ध गरेका थिए। तनाव बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार आगलागी नियन्त्रणमा लिएर सडकमा राखिएका अवरोध हटाएपछि यातायात सञ्चालन गरिएको हो। हाल क्षेत्रमा सुरक्षा सतर्कता कायम राखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




