काठमाडौं । बागलुङ–१ का प्रतिनिधिसभा उम्मेदवारहरूले एउटै मञ्चबाट आ–आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। बागलुङ बजारस्थित ऐश्वर्य पार्कमा आयोजित ‘प्रत्यक्ष संवाद’ कार्यक्रममा आठ जना उम्मेदवार सहभागी भई जिल्लाको विकास, रोजगारी र सुशासनका विषयमा धारणा राखेका हुन्।
उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, रोजगार र यातायातलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको खाका प्रस्तुत गरे। बसाइँसराइ रोक्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने विषयमा अधिकांशको जोड देखिएको थियो।
नेपाली कांग्रेसका भीम श्रीसले गाउँमै उद्यम विकास गरी बेरोजगारी न्यूनीकरण गर्ने योजना सुनाए। नेकपा एमालेका हिराबहादुर खत्रीले अधुरा पूर्वाधार योजना सम्पन्न गरी समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले हरित विकास र वातावरणीय अभियानमार्फत युवालाई रोजगारीसँग जोड्ने धारणा राखे।
त्यस्तै, नेकपा–राष्ट्रिय जनमोर्चा गठबन्धनका कृष्णप्रसाद अधिकारीले राष्ट्रिय स्वाधीनता र सुशासनलाई प्राथमिकता दिने बताए। राप्रपाका कल्याण विक्रम आचार्यले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्र स्थापना आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरे।
प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्र सापकोटा र मानवतावादी पार्टीका भक्तबहादुर विकले क्रमशः युवालाई स्वदेशमै अवसर सिर्जना र विभेदविरुद्धको अभियानलाई प्राथमिकतामा राख्ने बताए। नेकपा माओवादीका टेकबहादुर केसीले कृषि बिग्रेड गठन गरी रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे।
उम्मेदवारहरूले पुराना नीतिगत कमजोरी सुधार्दै बागलुङको सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा सहभागी मतदाताले पनि उम्मेदवारसँग प्रत्यक्ष प्रश्न गर्दै विकासका स्पष्ट योजना माग गरेका थिए।




