काठमाडौं । प्रमोद कुमार यादबको हत्याप्रति सर्लाहीका कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवलाई २०८२ फागुन ३ गते साँझ अज्ञात समूहले डेराबाट बाहिर बोलाई गोली प्रहार गरी हत्या गरेको जनाइएको छ। जनताको सेवामा खटिएका राष्ट्रसेवकमाथि भएको यस घटनालाई कर्मचारी संगठनहरूले “अमानवीय र कायरतापूर्ण” भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
कर्मचारी मिलन केन्द्र, सर्लाही तथा जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै पीडित परिवारको साथमा सबै कर्मचारी एकजुट रहने प्रतिबद्धता जनाइएको छ। संगठनहरूले हत्यामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र मृतक राष्ट्रसेवकलाई शहीद घोषणा गर्न माग गरेका छन्। परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा दीर्घकालीन संरक्षणको व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गरिएको छ।
आगामी निर्वाचनको तयारीमा कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्ने संवेदनशील समयमा भएको घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन तथा नियमित सेवामा खटिने सबै कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न राज्यसँग जोडदार माग गरिएको छ। घटनाको विरोध तथा दोषीलाई कानूनी कठघरामा उभ्याउन दबाब दिन २०८२ फागुन ५ गते मंगलबार जिल्लाभरका सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिन ‘पेन डाउन’ गर्दै सेवाप्रवाह बन्द गर्ने घोषणा गरेका छन्।
संयुक्त विज्ञप्तिमा कर्मचारी मिलन केन्द्र, सर्लाहीका अध्यक्ष पेन्द्र कुमार सिंहसहित विभिन्न कर्मचारी संगठनका जिल्ला तथा केन्द्रीय पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।




