काठमाडौं। बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली धनीपूर्जा बनाएर बेच्ने प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–६ का ५८ वर्षीय छिरिङ शेर्पा भनिने सुक्रबहादुर शेर्पा, जुगल–३ घर भई हाल गोकर्णेश्वर–१ बस्दै आएका ४८ वर्षीय फुरी शेर्पा भनिने दावा दोर्जे तामाङ तथा रामेछाप सुनापाती–२ घर भई कागेश्वरी मनोहरा–६ बस्दै आएका ५८ वर्षीय भुपाल सिं तामाङ रहेका छन्। सुक्रबहादुरलाई १५ माघमा तथा दावासहित भुपाललाई २८ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार बेलायतमा बस्दै आएका ताप्लेजुङ आठराई त्रिवेणी–३ का ईश्वर आङ्बुहाङको नाममा दर्ता रहेको उक्त जग्गा लामो समयदेखि खाली रहेको सूचना पाएपछि समूहले योजना बनाएको थियो। वास्तविक जग्गाधनी विदेशमा रहेको थाहा पाएपछि उनीहरू नक्कली कागजात तयार गरी जग्गा बेच्ने तयारीमा जुटेका थिए।
अनुसन्धानबाट आङ्बुहाङको नाममा नक्कली नागरिकता बनाइएको, त्यसकै आधारमा प्रतिलिपि लालपूर्जा निकालिएको, राष्ट्रिय परिचयपत्र र प्यान कार्ड बनाइएको तथा बैंक खाता खोल्नेसम्मका काम भएको खुलेको छ। सुक्रबहादुरलाई नक्कली आङ्बुहाङ बनाएर प्रक्रिया अघि बढाइएको थियो भने योजनाकारको भूमिकामा दावा रहेको प्रहरीको दाबी छ। भुपालले मालपोत कार्यालयमा उपस्थित गराउने काम गरेका थिए।
प्रहरीले उनीहरूबाट विभिन्न व्यक्तिका नाममा रहेका जग्गाधनी पूर्जा, कागजात, तीन थान मोबाइल, नक्कली नागरिकता, झुटा विवरणमा बनेको राष्ट्रिय परिचयपत्र, सिफारिसपत्र तथा ३ लाख ४० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुई जनाविरुद्ध विगतमा पनि विभिन्न आपराधिक मुद्दा दर्ता भएको विवरण प्रहरी अभिलेखमा रहेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।




