राजनीति

देश जलाउने कि जोगाउनेलाई मत दिने घडी आएको छ : अर्जुननरसिंह केसी

नुवाकोट । अर्जुननरसिंह केसीले आसन्न निर्वाचन देशको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटअन्तर्गत तारकेश्वर गाउँपालिका–स्थित मानेडाँडामा मंगलबार आयोजित दोस्रो चुनावी सभालाई सम्बोधन गर्दै उनले “देश जलाउनेलाई मत दिने कि निभाउनेलाई” भन्ने गम्भीर घडी आएको टिप्पणी गरे ।

नयाँ राजनीतिक दलतर्फ संकेत गर्दै उनले सरकारमा पुगेर एउटा उल्लेखनीय कामसमेत देखाउन नसक्ने शक्तिलाई मत दिए देश नै संकटमा पर्न सक्ने चेतावनी दिए । नेपाली कांग्रेस राणा शासन अन्त्य गर्ने उद्देश्यसहित स्थापना भएको, लामो संघर्ष र ऐतिहासिक योगदान बोकेको पार्टी भएको उल्लेख गर्दै अहिले कांग्रेस नयाँ सोच र प्रतिबद्धतासहित अघि बढिरहेको उनको भनाइ थियो ।

कोभिड–१९ महामारी र भूकम्पजस्ता विपत्तिका बेला आफू जनताको साथमा उभिएको स्मरण गर्दै उनले जिल्लाका ४५ वडासम्म पुगेर सहयोग गरेको बताए । “म राजनीति बाट भाग्ने मान्छे होइन, जुनसुकै बेला पनि जनताका लागि उपलब्ध छु,” उनले भने ।

उनले नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई संघर्षबाट उदाएका सक्षम नेता भन्दै योग्यताका आधारमा टिकट पाएको दाबी गरे ।

सभामा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कांग्रेस पुरानो पार्टी भए पनि नयाँ दृष्टिकोणसहित अगाडि बढिरहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता–कार्यकर्ता सहभागी थिए भने सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो । सभाकै अवसरमा एक दर्जन युवाले अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता केसी र उम्मेदवार जगदीश्वर नरसिंह केसीले खादा तथा मालासहित स्वागत गरेका थिए ।

उम्मेदवार केसीले निर्वाचनमा विजयी भए तारकेश्वर क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *