दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
मंगलबार अध्यक्ष ओलीले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धतापत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।
ओलीको प्रतिवद्धता पत्रमा केही राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१ ÷ २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’
स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गईरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ ।






