काठमाडौँ। शेखर कोइरालाले संविधान संरक्षण, संसदीय सर्वोच्चता र नागरिक स्वतन्त्रताको रक्षाका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको बताएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर–५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी प्रचारप्रसार कार्यक्रम तथा सर्वसाधारणसँगको भेटघाटका क्रममा उनले संसदको भूमिका बलियो नहुँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने धारणा व्यक्त गरे ।
उनले संसदमा कांग्रेसको बलियो उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै संसदीय सर्वोच्चता कायम गर्न मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । संसद कमजोर भए भोलिका दिनमा कांग्रेससमेत कम्युनिष्ट जस्तै बन्ने जोखिम रहेको उनको भनाइ थियो । देशको राजनीतिक अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सबैले गम्भीरतापूर्वक लिएर मतदान गर्न आग्रह गरे ।
कोइरालाले नयाँ राजनीतिक दलबारे मतदाताले यथार्थ बुझ्न आवश्यक रहेको बताए । पुराना दलहरूप्रति नकारात्मक भाष्य र अफवाह फैलाइएको दाबी गर्दै उनले त्यसप्रति सजग रहन आग्रह गरे । “नयाँ शक्तिले फैलाएको भ्रम चिर्न आवश्यक छ,” उनले भने, “जेनजी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको अनुभूति भएको छ, र त्यसले निर्धारित समयभन्दा अघि निर्वाचनको वातावरण बनाएको छ ।”
उनले विदेशमा रहेका नेपालीहरूले स्वदेशको यथार्थ अवस्था नबुझी परिवारलाई अमुक दलतर्फ प्रभावित पार्ने प्रयास नगर्न पनि आग्रह गरे । घरपरिवारका समस्या समाधानमा स्वदेशमै रहेका राजनीतिक कार्यकर्ता र समुदाय सक्रिय रहेको उनको भनाइ थियो ।
विराटनगर महानगरको विकासक्रम सन्तोषजनक रहेको उल्लेख गर्दै उनले वित्तीय सुशासनका आधारमा महानगर अग्रस्थानमा रहनु गर्वको विषय भएको बताए । महानगरको प्रगतिमा राजनीतिक नेतृत्वसँगै नागरिकको सहकार्य महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
जामुनगाछी हुँदै सुनसरी जोड्ने हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीय असन्तुष्टि सम्बोधन गरिएको उनले बताए । राज्यले भुक्तानी नदिँदा ठेकेदार सम्पर्कविहीन भएपछि खोजी गरेर निर्माण अघि बढाइएको उनको दाबी थियो ।
त्यस्तै, केशलिया खोला र बुढी खोलामा तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए । वर्षेनी विराटनगरका पश्चिम क्षेत्र—विशेषतः वडा नम्बर ४, ५, ११ र १२—डुबानमा पर्ने समस्याको दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणमा पहल गर्ने प्रतिबद्धता उनले जनाए ।




