देश

गोरखाका सुख–दुःखका सारथी प्रकाशचन्द्र दवाडी

गोरखा । गोरखा अजिरकोट गाउँपालिका ४ सिमजुङ (झ्यावाँ) का प्रकाशचन्द्र दवाडी गोरखा क्षेत्र नम्बर २ मा ‘सुख–दुःखमा साथ दिने’ नेताका रूपमा चिनिन्छन् । व्यवसायबाट समाजसेवामा र समाजसेवाबाट सक्रिय राजनीतिमा उदाएका दवाडीले करिब तीन दशकदेखि स्थानीय स्तरमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । अहिले उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । गोरखा २ मा विकास र सामाजिक उत्तरदायित्वको निरन्तरता दिने एजेन्डासहित मतदाता माझ छन् ।

दवाडीको सार्वजनिक जीवन विद्यार्थी राजनीतिबाट शुरू भएको हो । ०४६ सालमा हिमालय माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को उपसभापतिका रूपमा काम गर्दै उनले राजनीतिक प्रशिक्षण लिए । त्यसपछि पार्टी संगठनभित्र क्रमशः जिम्मेवारी सम्हाल्दै उनी कांग्रेसको १३औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित भए । १४औँ महाधिवेशनबाट पनि उनले सोही जिम्मेवारी दोहोर्‍याए र गण्डकी प्रदेश सदस्यसमेत बने ।

०७४ सालमा गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट प्रत्यक्षतर्फ गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएपछि दवाडीले औपचारिक रूपमा प्रदेशस्तरीय नीति निर्माणमा भूमिका पाए । प्रदेश सांसदका रूपमा उनले पाउने तलब, भत्ता र सेवा–सुविधासमेत सामाजिक कार्यमा लगाएको दाबी गर्छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै उनले प्रदेश राजनीतिमा आफ्नो उपस्थितिलाई सुदृढ बनाएका थिए ।

दवाडीको पहिचान केवल राजनीतिज्ञका रूपमा मात्र होइन सामाजिक अभियन्ताका रूपमा पनि छ । गरिब, विपन्न र असहाय परिवारलाई आर्थिक सहयोग गर्ने, अनाथ तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र शैक्षिक सामग्री वितरण गर्ने काम उनले निरन्तर गर्दै आएका छन् । उनका अनुसार १५६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको छ । विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन निर्माण र पुस्तकालय निर्माणमा समेत उनको योगदान रहेको स्थानीयहरू बताउँछन् ।

०७२ साल बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपछि गोरखामा उद्धार, राहत वितरण र पुनर्स्थापनामा सक्रिय भूमिका खेलेका दवाडीले बाढी, पहिरो, हावाहुरी र आगलागीबाट प्रभावित परिवारलाई घर निर्माण र राहत सहयोग उपलब्ध गराएका थिए । कोभिड–१९ महामारीका बेला गोरखाका स्वास्थ्य चौकीहरूमा औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो। आकस्मिक दुर्घटना वा गम्भीर बिरामीका घटनामा हेलिकप्टर चार्टर गरी उद्धार र उपचारको व्यवस्था गरिदिएको प्रसङ्ग स्थानीयले सम्झन्छन् ।

पूर्वाधार विकासतर्फ पनि उनले व्यक्तिगत लगानी र पहलमा विभिन्न स्थानमा मोटरबाटो ट्र्याक खोल्ने तथा निर्माण शुरू गर्ने काम अघि बढाएका छन् । आमा समूह, टोल विकास समिति, कृषि समूह र युवा क्लबलाई भवन निर्माण, खेलकुद सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउँदै स्थानीय सामाजिक संरचनालाई सशक्त बनाउने प्रयास गरेको बताइन्छ । धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र मठ–मन्दिर निर्माणमा समेत उनको आर्थिक योगदान रहेको उल्लेख गरिन्छ ।

प्रदेश सांसद हुँदा गोरखा २ भित्र सडक सञ्जाल विस्तार, सिँचाइ सुविधा, कृषि विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर सयौँ योजना पार्न सफल भएको दाबी उनका समर्थकहरूको छ। प्रदेश सरकारसँगको पहुँच प्रयोग गर्दै स्थानीय आवश्यकताअनुसार बजेट विनियोजन गराएको उनी निकट स्रोतहरू बताउँछन् ।

अब प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा दवाडीले गोरखा २ को समग्र विकासलाई संघीय स्तरबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । क्षेत्रको भौगोलिक जटिलता, विकासको आवश्यकता र सामाजिक यथार्थसँग परिचित रहेको दाबी गर्दै उनले ‘सामाजिक सेवा र विकासप्रेमी राजनीति’ लाई आफ्नो पहिचान बनाएका छन्।

गोरखा २ मा यस पटकको निर्वाचन दवाडीका लागि केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, विगत तीन दशकको सामाजिक यात्राको मूल्यांकन पनि बन्ने देखिएको छ। स्थानीय स्तरमा स्थापित ‘परिचित अनुहार’ संघीय संसदसम्म पुग्छ कि नयाँ विकल्प अघि आउँछ भन्ने प्रश्नसँगै गोरखाको चुनावी माहोल तातेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *