धनुषा। चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ आजदेखि जनकपुरधाममा सुरु भएको छ। मैथिली विकास कोषको आयोजना तथा शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाको सहआयोजक रहेको महोत्सवको रंगभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित उद्घाटन गरिएको छ ।
शोभायात्रा रंगभूमि मैदानबाट सुरु भई नगर परिक्रमा गर्दै सम्पन्न भएको थियो। मैथिली भेषभूषामा सजिएका कलाकार, स्थानीय प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिताले रहेको थियो। कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवले जनकपुरधामको सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको बताए।
शुक्रबारसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्यिक गोष्ठी, कविता वाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी र नाटक मञ्चनलगायत कार्यक्रम हुनेछन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय कलाकार तथा साहित्यकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
पहिलो दिनको झाँकीमा नेपाली कांग्रेसका नेता तथा तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधिको समेत सहभागिता रहेको थियो। उनले मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा कोषको भूमिकाको प्रशंसा गर्दै महोत्सवको सफलताको कामना गरे। उनले यस्ता कार्यक्रमले सांस्कृतिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने विश्वास व्यक्त गरे ।




