काठमाडौँ । अग्निप्रसाद सापकोटाले आसन्न प्रतिनिधि तथा प्रदेश निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टी देशकै पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
मङ्गलवार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरिबाट प्राप्त रिपोर्टका आधारमा यस्तो निष्कर्षमा पुगेको बताए ।
उनका अनुसार विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रबाट आएको प्रारम्भिक मूल्याङ्कनले कम्युनिष्ट पार्टीप्रति जनसमर्थन उल्लेख्य रहेको संकेत गरेको छ । निर्वाचन परिणाम आफ्नो पार्टीको पक्षमा आउनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो ।
सापकोटाले निर्वाचनको गरिमालाई ध्यानमा राख्दै जिम्मेवार ढंगले समाचार प्रसारण तथा प्रकाशन गर्न आमसञ्चार माध्यमलाई आग्रहसमेत गरे । नेपाली प्रेसले परिवर्तनका आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सो योगदानलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, देशभरिबाट प्राप्त पछिल्ला रिपोर्ट र पार्टीभित्रको समग्र निष्कर्षअनुसार कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने आधार बलियो बन्दै गएको छ ।
त्यस्तै, उनले निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा गम्भीर बन्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह गरे ।
सम्पूर्ण प्रक्रिया मर्यादित र विश्वसनीय बनाउनु आयोगको मुख्य दायित्व भएको उनको धारणा थियो ।




