दाङ । तुलसीपुर उपमहानगरपालिकामा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। प्रहरीका अनुसार उपमहानगरपालिका–६ र ८ को सीमाक्षेत्र पातुखोलामा मंगलबार विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्म नजिक पश्चिमतर्फ पातुखोलामा विस्फोट भएको हो। घटनास्थलमा सिलिन्डरका टुक्रा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए। विस्फोटपछि स्थानीय केही समय त्रसित बनेका थिए।
प्रहरीले निर्वाचनको मिति नजिकिँदै गएकाले त्रास फैलाउने उद्देश्यले विस्फोट गराइएको हुन सक्ने अनुमान गरेको छ। घटनामा मानवीय वा भौतिक क्षति भने भएको छैन।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले विस्फोटको आवाज आएपछि तत्काल प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएको बताए। घटनाकै पूर्वसन्ध्यामा नेकपा बहुमतले नेपाल बन्दको आह्वान गरेको थियो।




