राजनीति

देशलाई संकटबाट निकास: एमाले–कांग्रेसबीच प्रतिस्पर्धा आवश्यक : यामलाल कँडेल

काठमाडौं । नेकपा एमालेका सचिव यामलाल कँडेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा देशलाई वर्तमान राजनीतिक–आर्थिक संकटबाट निकास दिन एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनु अनिवार्य रहेको बताएका छन्।

सोमबार सुर्खेतको वीरेन्द्रनगर–१२ मा आयोजित चुनावी कोणसभामा सम्बोधन गर्दै कँडेलले भने, “हामी भोट मात्र माग्दैनौं, जनताको भरोसा गुम्न दिँदैनौं। २०८४ को निर्वाचन फागुन २१ मा हुँदैछ, त्यसैले यो निर्वाचन विशेष महत्वको छ।”

उनले सिंहदरबार र देशका प्रमुख धरोहर जलाउने तथा सहकारी ठगीमा संलग्न केही व्यक्तिहरूले नयाँ राजनीतिक मुखुण्डो ओढेर जनतालाई भ्रमित पार्न खोजेको आरोप लगाए। सामाजिक सञ्जालमार्फत फैलाइने नकारात्मक सन्देशले नागरिकलाई अल्मल्याउने काम भइरहेको उनले उल्लेख गरे।

कँडेलले कांग्रेस एक्लैले देशको निकास दिन नसक्ने र फरक राजनीतिक कित्तामा उभिए पनि एमाले–कांग्रेस प्रतिस्पर्धा नै मुलुकका लागि आवश्यक रहेको बताए। साथै, उनले पुष्पकमल दाहाल प्रचण्ड प्रति पनि विश्वास नभएको उल्लेख गर्दै भने, “हिजो जलाउन उक्साउनेहरूले अहिले देश जलाउने र बनाउने भाषामा कुरा गर्दैछन्।”

उनले आगामी निर्वाचनलाई केवल भोट हाल्ने प्रक्रिया मात्र नभई देशलाई भूराजनीतिक चुनौतीबाट जोगाउने अवसरका रूपमा लिनुपर्ने जोड दिए। विकास र स्थायित्वका मुद्दामा केन्द्रित नेता–कार्यकर्तालाई निर्देशन दिँदै मतदातालाई भ्रममा नपर्न आग्रह गरे। नयाँ शक्तिका नाममा आएका समूहले स्थानीय तह र प्रदेश सरकारका काममा अनावश्यक विरोधाभास सिर्जना गर्न खोजेको आरोप पनि उनले लगाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *