देश

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति : सामाजिक सञ्जालमा बहस, सेनाद्वारा ‘नियमित अभ्यास’ स्पष्टीकरण

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सेनाले परेड प्रदर्शन गरेको भनिएको तस्वीर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेला सेना दिवस तथा महाशिवरात्रि समारोहसँग जोडेर सार्वजनिक भएको उक्त दृश्यले विभिन्न टिप्पणी र चासो उत्पन्न गरेको छ ।

यस विषयमा स्पष्ट पार्दै जंगी अड्डाले सो गतिविधि कुनै असामान्य सैन्य उपस्थिति नभई मित्रराष्ट्रबीचको पारस्परिक सम्बन्ध झल्काउने नियमित कार्यक्रमअन्तर्गतको प्रस्तुति मात्र भएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना दिवसका अवसरमा नेपालमा आयोजना हुने औपचारिक समारोहमा मित्रदेशका सैनिक ब्यान्ड टोली सहभागी हुने परम्परा रहँदै आएको छ ।

उनले नेपाली सेना पनि यस्तै प्रकृतिका कार्यक्रममा अन्य देशमा सहभागी हुँदै आएको उदाहरण प्रस्तुत गरे । हालै भारतमा आयोजित सेना दिवस समारोहमा नेपाली सेनाको ब्यान्ड टोली सहभागी भएको र उद्घोषसमेत नेपाली भाषामै गरिएको उनले उल्लेख गरे । आर्मी–टु–आर्मी सहकार्यअन्तर्गत संयुक्त अभ्यास, औपचारिक समारोहमा सहभागिता तथा विविध सैन्य आदानप्रदान कार्यक्रम नियमित प्रक्रियाभित्र पर्ने सेनाको भनाइ छ ।

यस विषयमा जंगी अड्डाले औपचारिक विज्ञप्तिमार्फत पनि जानकारी गराएको जनाइएको छ । साथै युवा आदानप्रदान कार्यक्रमजस्ता सहकार्यका आयामहरूमा समेत नेपाल संलग्न हुँदै आएको सेनाले जनाएको छ ।

नेपाल र अमेरिकाबीच सन् १९४७ देखि नै सैन्य सम्बन्ध कायम रहँदै आएको छ । गणतन्त्र स्थापनापछिका विभिन्न कालखण्डमा समेत यस्ता सैन्य ब्यान्ड प्रस्तुति तथा पारस्परिक भ्रमण जारी रहँदै आएका छन् । नेपाली सेनाका अधिकृतहरू अमेरिकास्थित सैनिक स्टाफ कलेजहरूमा अध्ययनका लागि जाने तथा अमेरिकी सैन्य प्रतिनिधिहरू विशेष कार्यक्रममा नेपाल आउने क्रम पनि निरन्तर रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *