देश

मित्रता र सैनिक सहकार्यको प्रतीक हो विदेशी सहभागिता : भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सेनाको सहभागितालाई स्वाभाविक र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको प्रक्रिया बताएका छन्।

सोमबार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा उनले विभिन्न मुलुकका सेनाबीच हुने तालिम आदानप्रदान, संयुक्त प्रदर्शन र मैत्रीपूर्ण गतिविधि विश्वव्यापी परम्परा भएको स्पष्ट पारे। यस्ता कार्यक्रमलाई नकारात्मक दृष्टिले हेर्न नहुने उनको भनाइ थियो।

उनले सैनिक दिवसका क्रममा अमेरिकी, बेलायती र भारतीय सेनाका टुकडीहरूले कला तथा सैनिक कौशल प्रदर्शन गरेको उल्लेख गर्दै यसले मित्र राष्ट्रहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए। साथै, अनुभव आदानप्रदान र पेशागत क्षमता अभिवृद्धिमा पनि यस्ता गतिविधि उपयोगी हुने उनले धारणा राखे।

सामाजिक सञ्जालमा विदेशी सैनिकको प्रस्तुतिलाई लिएर उठेका आलोचनाप्रति संकेत गर्दै भण्डारीले त्यसलाई संकुचित मानसिकताको उपज भएको टिप्पणी गरे। जिम्मेवार राजनीतिक व्यक्तित्वहरूले समेत यस्ता विषयलाई नकारात्मक रूपमा उठाउनु दुःखद् भएको उनको भनाइ थियो।

उनका अनुसार सैनिक कूटनीति, संयुक्त अभ्यास र सांस्कृतिक प्रस्तुतिहरू मित्र राष्ट्रहरूबीच विश्वास र सहकार्य विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विश्वभर प्रचलित छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *