देश

फागुन २१ को निर्वाचन निष्पक्ष र स्वतन्त्र बनाउने जिम्मेवारी सरकारको : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी बनाउने काममा सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पारेकी छिन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मतदातालाई सुचित, सचेत र जिम्मेवार बनाउन सरकार र निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको जानकारी दिइन्। उनले आम मतदातालाई यसमा सक्रिय रूपमा सहभागी हुन आह्वान पनि गरेकी छिन्।

मन्त्री श्रेष्ठले भनिन्, “वर्तमान सरकारको मुख्य म्यान्डेट नै फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले सम्पन्न गर्नु हो। यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौं।”

उनले महिला मतदाताको सहभागिता बढाउन आवश्यक वातावरण सिर्जना गर्न सरकार लागिपरेको र निर्वाचनको तयारीमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा नागरिक समाज सबै तिव्र गतिमा काम गरिरहेका रहेको पनि जनाइन।

मतदाता शिक्षा कार्यक्रमको माध्यमबाट नागरिकहरूलाई मतदान प्रक्रियाबारे बुझाइ गराउने र जिम्मेवार निर्णय लिन सहयोग गर्ने तयारी भएको मन्त्री श्रेष्ठले उल्लेख गरेकी छिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *