काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करारपत्र’ सार्वजनिक गरेको छ । पार्टीले आफ्नो राजनीतिक प्राथमिकता, वर्तमान राष्ट्रिय अवस्था र भावी लक्ष्य समेट्दै करारपत्र सार्वजनिक गरेको जनाएको छ ।
करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना तथा समन्यायात्मक समावेशीतालाई प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ । साथै सनातन सभ्यताको सम्मान, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र सन्तुलित परराष्ट्र सम्बन्धमार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमान सुदृढ बनाउने लक्ष्य उल्लेख गरिएको छ ।
पार्टीले डायस्पोराको सामर्थ्य उपयोग, सौम्य शक्तिको विस्तार र सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितको संरक्षणलाई पनि करारपत्रका महत्वपूर्ण पक्षका रूपमा समेटेको छ ।
शासन सुधारअन्तर्गत रास्वपाले राज्य संयन्त्रको दलीयकरण अन्त्य गर्ने, सुशासन प्रवर्द्धन गर्ने र २०४६ साल यताकै सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपाले नागरिकसँग प्रत्यक्ष करार गर्ने अवधारणाअनुसार सार्वजनिक गरिएको उक्त दस्तावेजलाई आगामी निर्वाचनका लागि मार्गदर्शक नीतिका रूपमा अघि सारिएको जनाएको छ ।





