देश

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीसम्मका योजना

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित जारी घोषणापत्रमा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ।

पार्टीले शासकीय सुधार अन्तर्गत प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था ल्याउने योजना अघि सारेको छ। त्यसैगरी, राज्यको खर्च घटाउन सङ्घीय सांसदको संख्या २७५ बाट २०१ र प्रदेश सांसद ५५० बाट ३३० मा झार्ने, साथै मन्त्रालयको संख्या पनि कम गर्ने प्रस्ताव गरिएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउँदै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएको छ। मतदातालाई उम्मेदवार मन नपरेको अवस्थामा ‘नो भोट’ विकल्प दिने सुविधा पनि घोषणापत्रमा समावेश गरिएको छ।

आर्थिक र सामाजिक क्षेत्रमा पार्टीले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। ‘उज्यालो नेपाल’ अभियान अन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत आयोजनाको १ हजार कित्ता सेयर प्राथमिक मूल्यमा उपलब्ध गराउने पनि योजना छ।

त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क, तोकिएका स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क, र विद्यार्थीका लागि ‘कमाउँदै पढ्दै’ नीति अन्तर्गत इन्टर्नसिपको व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ। उज्यालो नेपाल पार्टीका नेताहरूले भने, “हामी भाषण र घोषणामा मात्र सीमित छैनौँ, जनताको वास्तविक जीवनमा असर पर्ने परिणाम दिने लक्ष्य लिएर अघि बढेका छौँ।”

Master-Press-Note-15-February-2026

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *