देश

निर्वाचन सामग्रीमा संयम अपनाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीप्रति सतर्कता अपनाउन नियामक निकायले आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल ले निर्वाचन आचारसंहिताविपरीत हुनेगरी समाचार, टिप्पणी वा सामग्री प्रकाशन–प्रसारण नगर्न सञ्चार संस्था र पत्रकारलाई सचेत गराएको हो । विशेष अनुगमनका क्रममा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत मतदातालाई प्रभावित पार्ने तथा उक्साउने प्रकृतिका सामग्री फेला परेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार दल वा उम्मेदवारलक्षित गालीगलौज, पक्षपोषणयुक्त प्रचार सामग्री, कसैको पक्षमा मत आह्वान गर्ने प्रस्तुति तथा ‘कसलाई भोट दिनुहुन्छ’ जस्ता प्रश्न सोधेर मतदाताको गोपनीयता उल्लङ्घन गर्ने अभ्यास देखिएको छ । यस्ता सामग्रीले मतदातालाई उक्साउने र नकारात्मक टिप्पणी गर्न प्रेरित गर्ने अवस्था सिर्जना गरेको जनाइएको छ ।

त्यसैगरी केही पत्रकारले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गरी निर्वाचनमा सहभागी दल तथा उम्मेदवारबारे पक्ष वा विपक्षमा मनोगत विश्लेषण, प्रचारप्रसार, लाञ्छनायुक्त टिप्पणी र सामग्री सेयर गर्ने गतिविधि गरेकोप्रति पनि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचन परिणामलाई प्रभाव पार्ने उद्देश्यले गलत, भ्रामक, तथ्यहीन वा सन्तुलनरहित सामग्री सम्प्रेषण नगर्न, द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन तथा कुनै दल वा उम्मेदवारको मानहानि वा चरित्रहत्या हुने किसिमका सामग्री प्रकाशन–प्रसारण नगर्न काउन्सिलले सबै सञ्चारकर्मी र माध्यमलाई अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *