देश

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ५ बजे भारतीय नम्बर प्लेट बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो। स्थानीयले सडकबाट करिब ५० मिटर तल खसेको अवस्थामा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट तल खस्दै सिसौको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह गम्भीर घाइते भएका थिए। उहाँको टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक प्रदीप विष्णु बस्यालले जानकारी दिए।

त्यस्तै, पछाडि सवार उहाँकी श्रीमती अन्दाजी २२ वर्षीया पुनम देवी साह पनि गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले बिहान पौने ८ बजे मृत घोषणा गरेका थिए।मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमै राखिएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *