काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक (प्रचण्ड)ले अबको संघर्ष आर्थिक क्रान्तितर्फ केन्द्रित हुने बताएका छन्। जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको चरण पार गरिसकेको बताउँदै अब उत्पादन र आत्मनिर्भरताको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाए।
उनका अनुसार, “क्रान्तिको स्वरूप परिवर्तन भएको छ, तर अभियान जारी छ। अबको युद्ध उत्पादन वृद्धि, आर्थिक आत्मनिर्भरता, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि हुनेछ।” उनले जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित आर्थिक समृद्धिको नयाँ अभियान सुरु गर्ने बताए।
प्रचण्डले रुकुम–रोल्पाले देशलाई राजनीतिक परिवर्तनको बाटो देखाएको उल्लेख गर्दै त्यस इतिहासलाई कसैले बङ्ग्याउन नसक्ने दाबी गरे। उनले आगामी निर्वाचनमा रुकुमबाट उम्मेदवारी दिने संकेत गर्दै जिल्लाप्रति कृतज्ञता व्यक्त गरे। विकास योजनाअन्तर्गत उनले जिल्लाका सबै वडामा वर्षभरि यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने घोषणा गरे। शिक्षा क्षेत्र सुधारका लागि ‘हब स्कुल’ अवधारणा लागू गरी आवासीय सुविधा र दक्ष शिक्षकसहित गुणस्तरीय विद्यालय स्थापना गर्ने योजना पनि सुनाए।
त्यस्तै, रुकुमको फलाम खानी उत्खनन, जडीबुटी प्रशोधन केन्द्र स्थापना, र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत बजार विस्तार गर्ने कार्यक्रम अघि सारिएको छ। अर्ग्यानिक उत्पादनलाई प्रमाणित गरी सहरका बजारसम्म पुर्याउने तयारीसमेत रहेको उनले बताए।
मगर समुदायको पहिचान र स्वायत्तताको विषय संविधानअनुसार अघि बढाइने उल्लेख गर्दै उनले सांस्कृतिक तथा ऐतिहासिक स्थललाई संग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरे। प्रचण्डले विगतमा राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको स्मरण गर्दै अब विकास र समृद्धिको औजार बोकेर अघि बढ्ने बताए। आगामी निर्वाचन परिवर्तन र प्रतिगमनबीचको रोजाइ हुने भन्दै बहुमतसहित सरकार सञ्चालनको अवसर पाए समाजवादको आधार निर्माण गर्ने दाबी गरे।




