देश

दैलेखको जलजलेमा अनुमानभन्दा बढी ग्यास भण्डार पुष्टि

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ठूलो परिमाणमा खनिज ग्यास भण्डार रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार उक्त क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको देखिएको हो।

यसअघि गरिएको प्रारम्भिक अध्ययनले सो क्षेत्रमा करिब एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरेको थियो। तर विस्तृत अनुसन्धान र थप परीक्षणपछि अनुमानभन्दा धेरै ठूलो परिमाणमा ग्यास रहेको पुष्टि भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।

विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार हालसम्म ग्यासको भण्डारणको आकार मात्रै पहिचान गरिएको हो। व्यावसायिक रूपमा कति ग्यास निकाल्न सकिन्छ भन्ने यकिन गर्न ‘वेल टेस्टिङ’ प्रक्रिया आवश्यक रहने उनले बताए। उक्त परीक्षणपछि मात्रै उत्पादन सम्भाव्यता र प्रयोग गर्नुपर्ने प्रविधिबारे स्पष्ट हुने जनाइएको छ।

आगामी चरणमा ड्रिलिङ गरिएको स्थानमा थप उपकरण प्रयोग गरी चट्टान फुटाउने वा ग्यास बाहिर निकाल्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि प्राप्त ग्यासको प्रयोगशाला परीक्षण गरी व्यावसायिक उत्पादनतर्फ कदम चालिने विभागको तयारी छ।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच दुई अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम अन्वेषण गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार चिनियाँ टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक तथा जियोकेमिकल सर्वेक्षण सम्पन्न गरिसकेको छ।

विज्ञहरूका अनुसार दैलेखमा भेटिएको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हुनसक्ने अनुमान छ। यस्तो ग्यास चट्टानभित्र थुनिएर रहने भएकाले यसको उत्खनन प्रक्रिया चुनौतीपूर्ण मानिन्छ। दैलेखका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रमा परम्परादेखि बल्दै आएका ज्वालालाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण कार्य सुरु गरिएको थियो। हाल प्राप्त प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि चीन सरकारसँग थप अनुदान सहयोगको पहल गरिएको छ। साथै, आगामी निर्वाचनमा पनि ग्यास उत्खनन दैलेखका राजनीतिक दलहरूको प्रमुख एजेन्डा बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *