काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा लागू गरिएको अवस्थामा पनि राजसंस्था समर्थक समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सर्वसाधारणलाई उपस्थित हुन आह्वान गरेका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले हालै सूचना जारी गर्दै विमानस्थल र वरपरका क्षेत्रमा र्याली, जुलुस तथा भीडभाडजन्य कार्यक्रम गर्न रोक लगाएको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।
तर, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले फागुन १ गते दिउँसो १२ बजे पूर्वराजा झापाबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको जनाउँदै समर्थकहरूलाई विमानस्थल पुगेर स्वागत गर्न अपिल गरेको छ। समितिद्वारा जारी विज्ञप्तिमा राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा उल्लेख गर्दै देशमा स्थायित्व र समाधानका लागि यसको आवश्यकता रहेको दाबी गरिएको छ।
यसअघि पनि सुवेदी नेतृत्वकै समूहले २०८१ चैतमा तीनकुने क्षेत्रमा आयोजना गरेको कार्यक्रममा तनाव उत्पन्न भएको थियो, जहाँ गोलीसमेत चलेको घटना सार्वजनिक भएको थियो।
यसपटक प्रशासनको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन भएमा झडप हुनसक्ने आशंका बढेको छ। सुरक्षा निकायले अवस्था निगरानीमा राखेको जनाएको छ भने सर्वसाधारणमा सम्भावित असहज परिस्थितिप्रति चासो देखिएको छ।





