देश

आन्तरिक असन्तुष्टिपछि रास्वपा नेता प्रणय शमशेर राणाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यता त्यागेका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पत्र पठाएर राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति र त्यसप्रति आफू मुकदर्शक बनेर बस्न नसक्ने उल्लेख गरेका छन्। आफ्नो विवेक र इमानले साथ नदिएकाले सम्पूर्ण जिम्मेवारीबाट अलगिएको उनको भनाइ छ। राणाले पार्टीको आन्तरिक अभ्यासप्रति गम्भीर प्रश्न उठाउँदै यस्तो कार्यशैलीले भविष्यमा सरकारमा गएर राम्रो काम गर्ने आधार नदेखिएको बताएका छन्। उनले अन्ध समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन्।

विशेषगरी प्रतिनिधि सभा निर्वाचनका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति उनी असन्तुष्ट थिए। प्राइमरीमा चलखेलको सम्भावना खुला राखिएको, संगठनभित्र नेतृत्व चयनको अधिकार सीमित गरिएको तथा आर्थिक पारदर्शितामा कमी देखिएको आरोप उनले लगाएका छन्। राणाका अनुसार सदस्यता शुल्क तथा प्राइमरीका नाममा उठाइएको रकमको प्रयोगबारे स्पष्ट विवरण सार्वजनिक नभएको भन्दै आर्थिक अपारदर्शिता र दुरुपयोग भएको आशंका व्यक्त गरेका छन्।

पार्टी स्थापना क्रममा गरिएको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने वाचा व्यवहारमा उल्टो भएको उनको टिप्पणी छ। केन्द्रीय नेतृत्व र पदाधिकारीहरू बेथितिको साझेदार बनेको आरोप लगाउँदै उनले सुशासन, जवाफदेहिता र पारदर्शिता नारामै सीमित भएको दाबी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *