काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत बैंकसम्बन्धी अनुसन्धानाधीन कागजात सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक खाताबाट ती कागजात सार्वजनिक गरेका थिए। सोही विषयमा उजुरी परेपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दै घृणा तथा द्वेष फैलाउने र गोपनीयता भंग गर्ने कार्य भएको भन्दै अनुसन्धान अघि बढाइएको हो। “उहाँमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया सुरु गरिएको छ,” डीएसपी सिंहले बताए।
प्रहरीले भट्टराईले यसअघि पनि फेसबुकमार्फत व्यक्तिविरुद्ध आपत्तिजनक सामग्री प्रकाशित गर्दै आएको दाबी गरेको छ। हाल जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




