राजनीति

काठमाडौं–१ मा नयाँ मोड :रविन्द्र मिश्रलाई राजानन्द माण्डव्यको समर्थन

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका राष्ट्रिय पोशाक अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपा उम्मेदवार रविन्द्र मिश्रलाई समर्थन गर्ने घोषणा गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा माण्डव्यले मिश्र आफूभन्दा योग्य र सक्षम उम्मेदवार भएको बताएका हुन्। “उहाँ सामाजिक काममा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित व्यक्तित्व हुनुहुन्छ। विचारभन्दा माथि उठेर देशको मुद्दा उठाउन सक्ने क्षमता उहाँमा छ,” उनले भने, “त्यसैले यसपटक मेरो समर्थन उहाँलाई रहनेछ।”

माण्डव्यले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पार्दै स्वविवेकले उम्मेदवारी दिएको बताए। “म अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर पदमा उठेको थिएँ। अहिले पनि स्वतन्त्र रूपमा उठेको हुँ, कसैको डमी उम्मेदवार होइन,” उनले स्पष्ट पारे।

देशका विभिन्न स्थानबाट समेत मिश्रलाई संसदमा देख्न चाहेको प्रतिक्रिया आएको उल्लेख गर्दै उनले त्यही अनुरोधलाई सम्मान गर्दै पछि हट्ने निर्णय गरेको बताए। “उहाँले संसदमा गएर कस्तो भूमिका खेल्नुहुन्छ, एकपटक हेर्न चाहन्छौं भन्ने सुझाव आयो। त्यसैले मैले बाटो छोड्ने निर्णय गरें,” उनले भने, “म अझै ३८ वर्षको मात्र भएँ, आगामी दिनमा अवसरहरू छन्।”

माण्डव्यले आफूले कुनै सर्त नराखी मिश्रलाई समर्थन गरेको पनि बताए। साथै, सांसद बनेपछि संसद बैठकमा राष्ट्रिय पोशाक लगाएर सहभागी हुन उनले मिश्रलाई सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *