राजनीति

निर्वाचन माहोल नेकपातिर बढ्दै : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल क्रमशः आफ्नो पार्टीको पक्षमा बन्दै गएको दाबी गरेका छन्।

बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूले समेत चुनावी माहोल नेकपातिरै केन्द्रित बन्दै गएको निष्कर्ष निकाल्न थालेको जिकिर गरे।

संयोजक दाहालले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले सकारात्मक नतिजा हासिल गर्ने संकेत देखिएको उल्लेख गर्दै पार्टीलाई उत्कृष्ट शक्तिका रूपमा स्थापित गर्न नेता–कार्यकर्तालाई सक्रियतापूर्वक प्रचार अभियानमा जुट्न निर्देशन दिए।

उनले आफूलाई ‘नयाँ’ भन्ने दलहरूले केही स्थानमा चुनावी माहोल बनाएको देखिए पनि परम्परागत प्रभाव क्षेत्रहरूमा त्यस्तो प्रभाव नदेखिएको टिप्पणी गरे।

आगामी निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने उनको भनाइ थियो।

दाहालले आगामी १०–१५ दिनभित्र नेकपाले अन्य दलहरूलाई पछि पार्दै चुनावी माहोल अझै आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे।

नेकपा नयाँ सोच र स्पष्ट भिजनसहित अघि बढेको पार्टी भएको दाबी गर्दै उनले हजारौँ युवा पुस्ताको साथ र समर्थन पार्टीलाई प्राप्त भएको पनि उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *