देश

सुशासन र लोकतन्त्र सुरक्षित गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘आयोगले शक्ति र पद भएका जोकोहीलाई कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्छ।’

राष्ट्रपति पौडेलका अनुसार अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि हुने गहिरो आघात पनि हो। उनले भने, ‘जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन्छ, तब राज्यप्रति नागरिकको भरोसा कमजोर हुन्छ, शासन प्रणालीप्रति निराशा बढ्छ र कानुनप्रति आस्था कमजोर पर्छ।’

उनले सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता र निर्भीकतालाई जीवन पद्धति बनाएर पालना गर्दा भ्रष्टाचार नियन्त्रण सम्भव हुने विश्वास व्यक्त गरे। ‘नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधार प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आवश्यक छ,’ उनले भने।

राष्ट्रपति पौडेलले भने, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि जनताको घरदैलोमा पुर्‍याउन अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अनिवार्य छ। उनले भ्रष्टाचार विरुद्धको लडाइँ कुनै एक संस्थाको जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताए।

‘अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष न्याय, समानता र सुशासनको पक्षमा उभिने सङ्घर्ष हो। यही सङ्घर्षमार्फत हामी नागरिकको विश्वास पुनःस्थापित गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र भावी पुस्तालाई स्वच्छ, सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सक्छौं,’ उनले जोड दिए।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको र राजनीतिक पदाधिकारीहरूको सकारात्मक कार्यसंस्कृतिले प्रशासनिक क्षेत्रलाई मार्गदर्शन गर्ने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *