सल्यान। सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटनामा परेको छ, जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेका छन्, जानकारी कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले दिए।
उपाध्यक्ष भण्डारीका अनुसार रुकुम पूर्व सिस्ने गाउँपालिका बाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप बुधबार बिहान करिब पौने ५ बजे कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालक घटनास्थलमै निधन भएको छ।
घाइते तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको छ। घाइतेको पहिचान खुलिसकेको छैन। दुर्घटना हुँदा गाडी करिब २०० मिटर तल खसेको थियो।
प्रहरी चौकी कपुरकोटले उद्धार कार्यमा खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




